काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा इन्जिनियरलगायत अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ गरेको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग सोधपुछ गरेको जानकारी दिए ।
उनले आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए । शनिबार समितिले मूल गेटदेखिका सीसीटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो ।
सचिव अर्यालले आज नै अर्थ मन्त्रालयसँग सम्बीन्धत विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताए ।
बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । समिति गठनसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।