श्रीलङ्काको सङ्कटकालीन अवस्थाको घोषणा संसद्बाट अनुमोदित



श्रीलङ्काको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि सङ्कटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ । बुधबार भएको मतदानमा एक सय २० सांसद्ले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् ।

सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले गरेका थिए ।


उक्त घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलङ्काको कानुनी प्रावधान रहेको छ । विक्रमासिङ्घे २० जुलाईमा भएको संसदीय मतदानबाट श्रीलङ्काको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले शपथ लिएका थिए ।