काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् ।
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभुल्न पनि आग्रह गरेका छन् ।
सभामुख सापकोटाद्वारा जारी सन्देशमा भनिएको छ, “फरकफरक जातजाति र धर्मावलम्बीले आफ्ना मौलिक रीतिरिवाज एवं चाडपर्व मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्वित भइरहेका छन्, नेपालीपनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको छ ।”
सामूहिकरुपमा नमाज पढेर र आफन्त तथा प्रियजनसँग शुभकामना साटासाट गरी मनाइने यो पर्वले शान्ति र भाइचाराको सन्देश दिने विश्वाससमेत उनले व्यक्त गरेका छन् । बकर इद पर्वले हामीबीच मजबुत राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि सभामुख सापकोटाले व्यक्त गरेका छन् ।