विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव



चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए ।

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताए । उनले भने, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।”


विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उनको भनाइ थियो । भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उनको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताए ।

उनले भने, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।” कागजमा हेरेर मात्रै नहुने भन्दै उनले स्थलगत निरीक्षणपछि प्रक्रिया पु¥याएर निर्णय गर्न सकिने बताए । भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उनको भनाइ थियो ।

भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताए । नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताए ।

यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उनले अनुरोध गरे । यस्तै नगरवनलाई अन्तर्राष्ट्रिय पार्कको रुपमा विकास गर्न लगानी कर्तासंग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै यसको निकासका लागि आग्रह गरे ।