पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ । वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरुमा परी अरु १७१ जना घाइते पनि भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले बिहीबार जनाएको छ ।
देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बालुचिस्तान प्रान्तमा मात्रै ६५ जनाको मृत्यु भएको र ४९ जना घाइते भएको विवरण छ । वर्षाका कारण मानवीय क्षतीसँगै भौतीक संरचनाहरुमा समेत ठूलो क्षती भएको छ । कतिपय सेवा पनि अवरुद्ध भएको जनाइएको छ ।
वर्षाले धेरै क्षती गर्न थालेपछि बालुचिस्तान प्रदेश सरकारले मङ्गलबारदेखि एक महिनाका लागि धारा १४४ लागू गरिएको छ । धारा १४४ मा नदीको छेउछाउ, जङ्गल, तलाउ लगायतका क्षेत्रमा बनभोज जान निषेध गरिएको छ । अन्य प्रदेशमा पनि बाढी पहिरो लगायतका घटनामा परी धेरैको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।