ललितपुरमा क्वीक रेस्पोन्स टिमका लागि ५ वटा विद्युतीय स्कुटर



ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्वीक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको महानगरपालिकाले जनाएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे ।


उनले पेट्रोल, डिजेलले चल्ने सवारीसाधन नहुने बताए । उनले क्वीक रेस्पोन्स टिमलाई यी स्कुटर महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए ।

उनले यो टिमले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न परिचालित हुने बताए ।