नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत



काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । भर्चुअलरुपमा बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमति जनाएको हो ।

यस्तै, दुवै पक्ष हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्न सहमत भएका छन् । कोभिडका कारण केही समय नाका खोले पनि चीनले एकतर्फीरुपमा नेपालमा सीमित मात्रामा सामग्री पठाउँदै आइरहेको छ । जसलाई लिएर नेपाली व्यापारीहरुले आफूहरुको ठूलो लगानी फसेको भन्दै पटक–पटक नेपाल सरकारसँग गुनासो गर्दै आइरहेका छन् ।


नेपाल र चीनले व्यापार सञ्चालनका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए ।

बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी लिनुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।