काठमाडाैँ । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको निर्णयका बारेमा छलफल भयो ।”
वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उहाँले स्पष्ट पारे । “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उनले भने, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।”
तत्कालीन नेकपा रहँदा आफूहरु एकै ठाउँमा भएको जनाउँदै उनले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताए । “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरुका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भने, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन ।”
बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । तत्कालीन नेकपामा उनीहरु सचिवालय सदस्यका रूपमा रहेका थिए ।