कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शेखर पक्षले भ्रष्टाचार मुद्दा उठाउने



काठमाडौँ । नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौँको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले सरकारलाई भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।


सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्ष असन्तुष्ट बन्दै आएको छ ।

स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत बनाउने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने भण्डारीले बताए ।

बैठकमा कोइराला पक्षले पार्टीका भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । बैठकका पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो ।

पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।