काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । आगामी मंसीर पहिलो साता आम निर्वाचन हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाई थियो । उनले आगामी आमनिर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी समेत गरे ।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे ।
अध्यक्ष नेपालले भने, ‘सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनाव हुन्छ । अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अव डम्फू बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यकता छ । नेपाली काँग्रेस एउटा शक्तिको रुपमा उदाएको छ । हिजोदेखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिदै गएको भएतापनि त्यो दोस्रो शक्तिको रुपमा छ भने अनि माओवादीले पनि यस बीचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ भने हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ।’
अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकीर समेत गरे ।