अर्कै नामबाट एसपीपी सम्झौता गर्ने तयारी भएको छः देव गुरुङ



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा गुरुङले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका हुन् ।


गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुःखद् रहेको बताए । उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णय विपरित भएको बताए । उनले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे ।

सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए ।

उनले भने, ‘ मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्ने दायित्व जिम्मेवारी सम्बन्धित मन्त्रालयहरुको हो । तर परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्न चाहन्छु । एसपीपी सम्झौता नहुने भन्नेकुरा पछि अन्य वैकल्पिक नामहरुबाट कन्टेन्ट त्यही राखेर सैन्य सम्झौताको कन्टेन राखेर अन्य विभिन्न नामबाट वर्कआउट गरिराखेको बुझिन्छ । म्युचिएल डिफेन्स क्रिटीको नामबाट पनि त्यो प्रयास चलिरहेको छ । स्टाटेजी डिफेन्स प्याक्ट भनेर पनि प्रयास चलिरहेको छ । पीस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर सम्झौता गर्ने प्रयास भइरहेको छ ।’