अमरनाथ यात्रा सोमबारबाट पुनः सुरू



अत्यधिक बर्षापछि भएको सडक दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा सुरू गरिएको छ । अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएको भारतीय प्रहरीले बताएको छ ।

बालटाल आधार शिविरमा यात्रा सुरु हुने प्रतीक्षामा रहेका ती तीर्थयात्रीहरू यात्रा सुरु भएसँगै खुसी भएका छन् । यसपहिले तीर्थयात्रीलाई गन्तब्यमा जाने व्यवस्था मिलाउन बालटाल र नुनवान दुवैतर्फबाट हेलिकप्टर उपलब्ध गराइएको थियो ।


शुक्रबार साँझ करिब ५ः३० बजे अमरनाथ गुफामुनि जमेको पानी एक्कासि निस्किँदा १६ जनाको मृत्यु भएको थियो । अझै पनि ४० जना बेपत्ता रहेको बताइएको छ । त्यहाँबाट ३४ घाइतेलाई बाहिर निकालिएको थियो । घटनास्थलमा एनडिआरएफ, एसडिआरएफ र उद्धार कार्यसँग सम्बन्धित सबै एजेन्सीहरू अझै पनि राहत र उद्धार कार्यमा जुटेका छन् ।

भारत–तिब्बत सिमाका प्रहरी जनसम्पर्क अधिकृत विवेक कुमार पाण्डेले सोमबार बिहानदेखि बालटाल आधार शिविरमा रहेका तीर्थयात्रीहरूलाई अमरनाथ दर्शनका लागि अनुमति दिइएको थियो । करिब ११ः३० सम्ममा बालटाल मार्ग हुँदै करिब सात हजार भक्तजनहरू अमरनाथ गुफा नजिक पुगिसकेका उनले बताए ।