अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० बेपत्ता



भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ । भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् ।


चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् । अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।