सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेका डेनिस प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

संसद् भवन नयाँबानेश्वरस्थित शङ्कर हलमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए । उनले शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे ।


सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए । “राजनीतिक, भाषिक, सांस्कृतिक हिसाबले छिमेकीसँग राम्रो सम्बन्ध राख्न सफल, मानव विकास सुचकाङ्कमा पाँचौँ स्थानमा रहेको डेनमार्कका सकारात्मक कुराहरू हामी सिक्न चाहन्छौँ”, उनले भने ।

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावना औँल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गरे ।

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डीआईपीडी) का कार्यकारी निर्देशक लिस्बेथ पिलेगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गरिन् । उनले डेनमार्कको संसद्को संस्था डीआईपीडीले लोकतन्त्र र नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्दै आएको बताइन् ।

उनले डीआईपीडीले नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्न चाहेको बताउँदै जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिइन् । समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उनको भनाइ थियो ।

प्रतिनिधिमण्डमा सहभागी डेनमार्कको सोसल लिबरल पार्टीकी नेत्री क्लारा हाल्र्भोसेनले डेनमार्क नेपालका युवासँग काम गर्न इच्छुक रहेको बताइन् । भेट अघि प्रतिनिधिमण्डलले सङ्घीय संसद् भवनमा सभा सञ्चालनको अवलोकनसमेत गरेको थियो ।