सङ्खुवासभाको चैनपुर–नुनढाकी सडक निर्माणस्थलमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु



सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ६ का ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेका इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 


बुधबार बिहान ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले पुरिएर दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।