भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलङ्कालाई मल उपलब्ध गराइने जानकारी दिए । श्रीलङ्कालाई खाद्य सङ्कट परिरहेका बेला आगामी दिनमा यो सङ्कट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्कालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए । भारतले “छिमेकी प्रथम” नीति अन्तर्गत छिमेकी राष्ट्रहरुलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाई छ । “भारतले दिने निर्णय भएको मल श्रीलङ्काले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,” उनले भने ।
भारत र श्रीलङ्काका उच्च अधिकारीहरुका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलङ्कालाई खाद्य सुरक्षा, औषधी व्यवस्थालगायतका विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्युन भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रबार श्रीलङ्कालाई सहयोग स्वरुप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।
आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरुलाई अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।
आर्थिक सङ्कटका कारण बहुआयामीक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यवश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।