ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई आफ्नै पार्टीबाट विश्वासको मत प्राप्त



ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

उनीप्रति विश्वास छ भन्ने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । यो सँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए ।


प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताएका छन् । उनले सो नतिजालाई निर्णायक भनेका छन् । उनले उक्त नतिजा आफ्ना लागि धेरै राम्रो भएको बताएका थिए । यो नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ ।

उता आलोचकहरूले भने उनका विरुद्धमा पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताएका छन् र यसले आगामी दिनमा उनका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् । आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उहाँलाई कतिपयले राजीनामा दिन पनि आह्वान गरेका छन् ।