बालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोगका लागि अमेरिकाको अनुमति



अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।

एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको तीन मात्रा लिनसक्ने अनुमति दिएको हो । अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, “थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ । “हामी आशा गर्छौं कि साना केटाकेटीका लागि खोपले अस्पतालमा भर्ना हुनपर्नेु र मृत्यको मुखमा पुग्नुपर्ने अवस्थाबाट सुरक्षा प्रदान गर्नेछ । यद्यपि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले खोपहरू प्रयोग गर्नुभन्दा पहिले अनुमति दिनुपर्छ ।


यो अन्तिम ग्रीनलाइट हो जुन विशेषज्ञहरूको सल्लाहकार समितिको बैठकपछि दिइनेछ । यो बैठक छिट्टै आयोजना हुने आशा गरिएको छ । तर अमेरिकी सरकारले एफडीएको निर्णय हुनेबित्तिकै तत्काल देशभर १० लाख मात्रा पठाउन सकिने बताएको छ । त्यसपछिका हप्ताहरुमा करोडौँ बढी खोपका मात्रा पठाउन सकिने बताइएको छ ।