बर्दिया घटनाबारे गृहमन्त्रीले भने नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा गृहमन्त्री खाणले सो कुरा बताएका हुन् ।

‘‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको र नागरिकहरुको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन ।,’’ उनले भने, ‘‘म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षी सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’’


सोमबार बर्दियाको मधुवन–२ मा प्रहरीको गोली प्रहारबाट नविना थारुको मृत्यु भएको थियो । बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यी छानबिन समिति गठन गरेको जानकारी दिए ।

गृहमन्त्री खाणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए ।समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्ष्क कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसशित छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको उनको भनाइ छ ।