फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीबाट प्राप्त ढुंगा, गिटी/बालुवालगायत वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मेयर यादव, तत्कालीन उपमेयर कान्तीदेवी र प्रमुख प्रशासकीय अधिकृतसहित २१ विरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।