प्रेमीले जन्मदिन मनाउन बोलाएकी किशोरीको सामूहिक बलात्कार, प्रेमीसहित सात जना पक्राउ



बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।


बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १७ वर्षीय प्रेमी हेमराज थारु र उनका ६ साथीहरू निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् । पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष,  दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ ।