प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले हेर्न आवश्यक छैनः परराष्ट्रमन्त्री



काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शंका नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले हेर्न आवश्यक नरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको भ्रमण देशको हितमा हुने बताए । विगतमा पनि प्रधानमन्त्रीहरु विभिन्न मित्रराष्ट्रको भ्रमणका गएको उल्लेख गर्दै अहिले पनि त्यसैको निरन्तरता भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य सम्झौतका लागि हुँदै होइन, यसमा शंकै नगरौं । यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन । के का लागि सैन्य गठबन्धन गर्ने ? यो आवश्यक नै छैन।’


उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरे । उनले छिमेकी मुलुकसँगको सम्बन्ध् सन्तुलित राख्न संवेदनशील भएर लागेको बताए । उनले सरकारले कुनै छिमेकीकोतिर ढल्केर अर्कोलाई असर गर्ने काम नगर्ने बताए ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताए । उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताए ।