प्रतिपक्षीलाई अर्थमन्त्रीको जवाफ : बजेटमा अनुदान छैन, प्रोत्साहन छ



काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको बताएका छन् । बुधवार राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे । उनले प्रतिपक्ष दलहरूलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गरे ।


आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याएको दोहोर्‍याए । ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ, तर यहाँ कतै पैसा बाँड्ने कार्यक्रम छैन । अनुदान भन्ने कतै पनि छैन,’ उनले अघि भने, ‘अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला, तर यसमा बिल्कुल अनुदान छैन, प्रोत्साहन छ ।’

इन्डक्सन चुलोलाई भोट साट्न खोजेको आरोपको पनि उनले खण्डन गरे । प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने भन्दै उनले भने, ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन ।’