नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणबारे सदनलाई जानकारी गराउन गिरिराजमणि पोखरेलकाे माग



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग राखेका छन् ।

अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लिन चार दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसाे काठमाडौँ आइपुगेका छन् ।


बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

‘‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्दैन ?,’’ उनले प्रश्न गरेका छन्, ‘‘अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’’

त्यस्तै, उनले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ? भनेर प्रश्न गरेका छन् ।

‘‘यसबारे सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ?,’’ उनले प्रश्न गरे ।