‘नेपाल एसपिपीमा आबद्ध हुने कुनै सम्भावना छैन’



काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा आबद्ध नहुने कुनै सम्भावना नभएको सपष्ट पारेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसदका जिज्ञासा स्पष्ट पार्दै उनले एसपिपी नेपालको हितमा नरहेको र परिवर्तित सन्दर्भमा यो नेपाललाई स्वीकार्यसमेत नभएको प्रधानमन्त्री तहबाटै स्पष्ट जानकारी आइसकेको बताए । उनले भने, “एसपिपीका सम्बन्धमा नेपाली सेनालेसमेत स्पष्ट पारिसकेकाले यो बन्द भइसकेको विषय हो । अब यसमा पुनःखोतलेर छलफल गर्नु आवश्यक छैन ।” उनले नेपालको भौगोलिक अवस्थिति र छिमेकी मुलुकको संवेदनशीलतालाई समेत ध्यानमा राख्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन नसक्ने बताए ।


मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकामा हुने भनिएको भ्रमणका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासालाई स्पष्ट पार्दै प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारे । उनले भने, “मुलुकको कार्यकारी प्रमुख विदेश भ्रमणमा जानु स्वभाविक विषय हो, कुनै विषयलाई लिएर आशङ्का गर्दा तथा स्थगित हुनुपर्छ भन्दा हामीमा आत्मविश्वासको कमी रहेको र अन्तर्राष्ट्रिय जगतमा पनि नराम्रो सन्देश जान सक्छ ।”

पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले एसपिपीका सम्बन्धमा सरकारका तर्फबाट धेरै स्पष्ट जानकारी आइसकेको र प्रधानमन्त्री देउवालेसमेत आफूसँगको भेटमा राष्ट्रियहितविपरीतका कुनै पनि सम्झौता नहुने बताएको जानकारी दिए । उनले कसैले पनि कसैको दबाब र प्रलोभनमा परी राष्ट्रियहितविपरीतका कार्य गर्न नहुनेमा जोड दिँदै आफू र आफ्नो पार्टी राष्ट्रियताका सवालमा दृढ भएर उभिने उभिने प्रतिबद्धता व्यक्त गरे ।