गलकोटमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा



गलकाेट । बागलुङको गलकोटमा बाढी पहिराका कारण तीन घरमा क्षति पुगेको छ ।

गलकोट नगरपालिका–३ को हटिया बजारमा बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिराका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका कारण उच्च जोखिममा परेको कँडेलको भनाइ छ ।


पहिराले स्थानीय नारायण नेपाली र टीकाबहादुर घर्तीको घरपहिराका कारण उच्च जोखिममा परेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्कासी बाढी बजारमा बस्दा आवतजावत ठप्प भएको थियो । नगरपालिकाले बन्द रहेको सडक खुलाउने प्रयास गरिरहेको वडा नं २ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए । बाढीले स्वास्थ्यचौकी र बजार क्षेत्रमा आवतजावत गर्ने सडक पुरिएको उनको भनाइ छ ।

पहिराले कोइराबारी खानेपानी, चरौँदीखोला खानेपानी र देउराली खोला खानेपानीको मुहान तथा पाइपमा क्षति पु¥याउँदा खानेपानी पूर्णरुपमा अवरुद्ध भएको छ । पहिराले गलकोट नगरपालिका वडा नं ६ मा रहेको हटिया मजुवा हुँदै ताराखोला जोड्ने कृषि सडक, नगरपालिकाको कार्यालयदेखि ढले पीपलसम्मको सडकसमेत बाढीले बगर बनाएको छ ।

बाढी, पहिराले ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् । पानी रोकिएपछि आज बिहानदेखि अवरुद्ध सडक सञ्चालन गराउन थालिएको छ ।