क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि



क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।

प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।


उनले ट्वीटमा लेखेका छन्– मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।

गत हप्तामात्र उनले अमेरिकी शहर लस एन्जेलसको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए । उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि उनी हाल एकान्तमा रहने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्नेछन् ।