काठमाडौँको फोहोरबारे एमालेले माग्यो मन्त्रीको जवाफ



काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि काठमाडौँमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न माग गरे । उनले भने, “काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।”


काठमाडौँका जनताले गरिरहेको धीरताको ख्याल गरेर सरकारले समयमा ख्याल गर्नुपर्ने बताए । ‘फोहोर आतंक जनताले धैर्य गरिरहेको छ,’ उनले भने, ‘यस विषयमा सरकारले के हेरिरहेको छ ? तत्काल फोहोर उठ्छ कि उठ्दैन ? यस विषयमा तालुकदार मन्त्रीको जवाफका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे । उनले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए ।