काठमाडौँ महानगर प्रमुख र फ्रान्सका राजदूतबीच शिष्टाचार भेट



काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र फ्रान्सेली राजदूत जील बुर्वाओबीच बुधबार शिष्टाचार भेट भएको छ। प्रमुखको कार्यकक्षमा उनीहरुबीच मुख्यगरी, नगर व्यवस्थापनका लागि सेवा, सुविधा वितरणका विषयमा छलफल भएकाे थियाे ।

मेयर शाहले आफूहरु अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा रहेको, फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए ।


“सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यको कार्यक्रम तय गर्ने प्रणालीको विकास गर्दैछौं”, उनले भने ।

विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्न लागेको उनले सुनाए ।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुनसक्ने बताए । भेटमा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफू इच्छुक रहेको बताए ।