एक साताभित्र नागरिकता विधेयक पारित हुन्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा जसपा सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीले एक साता भित्र नागरिकता विधेयक पारित हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न जसपाका सांसद प्रदीप यादव सहितको टोली पुगेको थियो । भेटमा प्रधानमन्त्री देउवाले आश्वासनमात्र नभएर एक साता भित्र नागरिकता विधेयक ल्याउने ठोकुवा गरेको सांसद यादवले जानकारी दिए ।


प्रधानमन्त्रीलाई उदृत गर्दै यादवले भने,’एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। यो मेरो आश्वासन होइन, ठोकुवा हो। विवाह गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।’

विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भएपनि अब त्यो प्रावधान नरहने यादवले बताए । प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए ।