आइजीपी नियुक्तिविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ गते



काठमाडौँ । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट फेरि हेर्दाहेर्दैमा परेको छ। सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको सोमबारको इजलासमा मुद्दाको सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

रिटमाथि अब असार १९ गते अर्को सुनुवाइ हुनेछ । सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।


इजलसाले मिति नै तोकेर सुनुवाइका लागि विपक्षीलाई बोलाएको थियो । उक्त मुद्दामा जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि सरेको थियो। लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पुर्ण इजलासमा पेसी परेको थियो। उक्त इजलासले निरन्तर अन्तिम सुनुवाइ गरिरहेको छ। सोमबार तेस्रोपटक पेसी तोकिएमा पुनः हेर्दाहेर्दैमा परेको हो ।

आफूलाई प्रहरी प्रमुख नबनाइ झण्डै डेढ वर्ष जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाएको भन्दै पोखरेलले सवोच्चमा रिट हालेका थिए । पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर रिटमा गरेका छन्।