सङ्घीयताको सफल कार्यान्वयनका लागि निर्वाचनमा जुट्न अध्यक्ष ओलीको आग्रह



माेरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।


उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औँल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवादसमेत दिए ।

अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा वसोवास गर्ने जनता नै भएको विचार राखे । संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर गरे ।