संसदमा एमालेले गर्‍यो एसपीपीकाे विरोध : देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य छैन



काठमाडौँ । नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सरकारले अगाडि बढाउन खोजेको भन्दै विरोध गरे । ज्ञवालीले सरकारले श्रृखलाबद्ध रुपमा परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउन खोजेको बताए। उनले भने,‘एसपीपी सम्झौता नेपालको संविधानको बिल्कुल बर्खिलापमा छ। नेपालले अबलम्बन गर्दै आएको परराष्ट्र नीतिको बर्खिलाप छ । हाम्रो सबै देशसँग मित्रता छ।’


उनले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भएकाले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए। उनले सरकार परिवर्तन हुनसाथ एसपीपी अगाडि बढाइएको र दलहरुबीच छलफल नगरिएको भन्दै आपत्ति जनाए।

उनले भने,‘सभामुख महोदय, मैले परराष्ट्र सम्बन्धका विषयमा यसअघि नै प्रश्न उठाएको थिएँ । त्यसयता सरकारको परराष्ट्र सम्बन्धलाई लिएर सदनमा लगातार प्रश्न उठिरहेका छन् । हिजो अमेरिकासँग स्टेट पार्टरसिप प्रोग्रामका विषयमा केही ड्राफ्ट सार्वजनिक भएको छ । कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएन ।’

उनले नेपाली सेनाको विश्वभर छुट्टै इज्जत रहेको भन्दै अहिले आएको ड्राफ्टले त्यो इज्जतमाथि धावा बोलेको बताए । उनले भने,‘संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा निलो क्याप लगाएर खट्ने सेनालाई कुनै देशको स्टेटलेभलको नेसनल गार्डको सेक्युरिटी गरिदिनुपर्ने अनि हाइ अल्टिच्युडमा छिमेकी देशको नाकैमा गएर सैन्य अभ्यास गर्ने ? कसैले छिमेकी देशको सिमानामा एयरपोर्ट बनाएर लडाकु विमान उडाउँछु भन्यो भने दिन सकिन्छ ?‘