विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई पक्राउ



काठमाडाैँ । नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा११च ६०४५ र बा६च २८०४ नंको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए ।