काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ । सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए । “तत्कालका लागि बिजुलीको पोलमा उपकरण जडान गरेका छाँै, टावर निर्माणका लागि ठेक्का लगाइसकिएको छ, फाउण्डेशनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ”, उनले भने ।
समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना छ । तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । उपकरण राख्न गाउँपालिकामार्फत टावर परिसरमा भवन निर्माण भइसकेको छ ।
टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामुनी, नगलडाँडा, कुइनेमङ्गलेको मङ्गलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीमा मोबाइल फोनको सहज पहुँच पुगेको छ । दुर्गम बस्तीमा मोवाइलका लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता अब हटेको रितुङ मावि कुइनेमङ्गलेका शिक्षक याम घर्तीले बताए । “सञ्चार सेवा नहुँदा निकै कठिनाइ झेल्दै आउनुपरेको थियो, अब अधिकांश बस्तीमा घरमै मोबाइल फोन प्रयोग गर्न पाइएको छ”, उनले भने ।