मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली



मोरङ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको स्पष्ट पारेका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा आश्वासन नदिएको बताएका हुन् ।


केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई  प्रधानमन्त्रीको ‘अफर’ आएको बताएका थिए। प्रधानमन्त्रीका लागि कसले ‘अफर’ गर्‍यो भन्नेबारे भने उनीहरुले खुलाएका थिएनन् ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए ।

ओलीले नेकपा एकीकृत( समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए । उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए ।

उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।