मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिनुपर्छ : गगन थापा



काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आगामी दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।


‘कोभिड र त्यसपछि रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होइन, यसले यति अस्तव्यस्त बनाउँछ, हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन,’ सांसद थापाले भने ।

यस्तै उनले पेट्रोलियम पदार्थको स्टोरेज क्यापासिटी बढाउने काममा पनि ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

उनले भने, ‘हाम्रो स्टोरेज ८/१० दिन मात्रैको छ । स्टोरेजको क्षमता बढाउनैपर्छ । पेट्रोलियम ऐन चाहियो हामीलाई । बल्ल त्यसले हामीलाई बाटो देखाउँछ । र, अर्को कुरा नेपाललाई पेट्रोल, डिजेल, एलपिजी ग्याँसमुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजना ल्याउनुपर्ने देखिन्छ । ‘