मन्त्री फेर्ने पार्टीको निर्णय गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ : झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।


आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिईसके–यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’ उनले बजेट बाँडफाँटका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे ।