भोटेबहालको गेस्ट हाउसमा बलात्कारपछि युवतीको सुन र नगद लुटपाट



काठमाडाैँ । काठमाडौँमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन् ।

काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय आशिष भनिने विवश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।


जेठ २९ गते राति काठमाडौँको भोटेबहाल स्थित गेस्ट हाउसमा एक २४ वर्षीया युवतीलाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेर सुन र नगद लुटपाट गरी तामाङ फरार भएका थिए। ।

पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले पीडितकाे साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेकाे छ ।

आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

‘प्रहरीसँग ती पुरूषको हुलिया, नाम, ठेगाना केही पनि थिएन । गेष्टहाउसमा पनि महिलाकै परिचयपत्र, मोबाइल नम्बर राखेर डाटा इन्ट्री गरिएको थियो’, मैनालीले भने,‘अनुसन्धान गर्न प्रहरीसँग सूचना शून्य जस्तै थियो। तर विभिन्न तरिकाबाट अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्यो ।’

पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए ।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।