भुसालको बचाउमा रावल : उल्टो बाटो हिँड्दा पराजय हुनसक्छ !



काठमाडौँ । पार्टी स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्ने अनुशासन आयोगको निर्णयलाई एमाले नेता डा. भीम रावलले ’उल्टो बाटो’को संज्ञा दिएका छन्।

सामाजिक संजालमार्फत रावलले यसले झन् पराजय गराउने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ।’


त्यस्तै उनले ६ महिने मन्त्री बनाउने प्रचलन लोकतन्त्रका लागि घातक भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्न लागेको सन्दर्भमा रावलको यस्तो टिप्पणी आएको हो । रावलले भनेका छन्, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो । देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’

एकीकृत समाजवादीले विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएको छ । नयाँ मन्त्रीमा भवानी खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् भने मेटमणि चौधरी शहरी विकास मन्त्री, जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री र हिरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।