भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना



भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् । विरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।

भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन् । आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो । “घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,” जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख हेमन्त अनाबाथुलले भने ।


ग्याँस चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । ग्याँस चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखा परेको थियो ।