बालेनले भने- अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौं



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालने साहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत मेयर साहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् ।

यसबाट पर्न सक्ने असुविधाका लागि महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् ।


उनले भनेका छन्, ‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देहः खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन् । उनले भने,‘ समाधान तपाईहरुको साथविना सम्भव हुँदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’