बढ्दो अमेरिका–चीन द्वन्द्वबीच आसियान राष्ट्र सम्बन्ध विस्तारमा



दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको विशेष बैठकले अमेरिका र चीनबीचको बढ्दो द्वन्द्वलाई दृष्टिगत गरी सदस्य राष्ट्रबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

भारत र सिङ्गापुरको सह–अध्यक्षतामा बिहिबार यहाँ शुरू भएको उक्त बैठकले युक्रेनमा जारी आक्रमणले यस क्षेत्रको शान्ति र स्थायित्वमा जोखिम थपेको तथा संयुक्त राज्य अमेरिका र चीनबीचको चर्को द्वन्द्वले पारस्परिक सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको हो ।


भारतका विदेश मन्त्री एस जयशङ्करले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र युक्रेन युद्धको भूराजनीतिक प्रभावको सामना गरिरहेका बताउँदै खाद्य र ऊर्जा सुरक्षाका साथै मलखाद एवम् दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनपेक्षित रूपमा बढेको तथा आपूर्ति शृङ्खला भएको अवरोधले यस क्षेत्रमा असर परेको बताए ।

भारतले बलियो, एकीकृत, समृद्ध आसियानलाई पूर्ण रूपमा समर्थन गर्ने बताए । सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले युक्रेनमा रूसको कारबाहीबाट अन्तर्राष्ट्रिय नियम र मापदण्डहरूको उल्लङ्घन भएको टिप्पणी गरे । उनले अमेरिका र चीनबीचको द्वन्द्वले सम्पूर्ण एसियामा प्रत्यक्ष प्रभाव पारेको बताए ।

रूस–युक्रेन युद्ध र अमेरिका–चीन द्वन्द्व नियन्त्रण भएन भने क्षेत्रीय शान्ति र स्थायित्वको प्रणालीलाई जोखिममा पार्ने उनले बताए । दुईदिने उक्त बैठकमा ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, म्यान्मा र भियतनामका विदेशमन्त्री सहभागी छन् ।