‘बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको छ’



काठमाडाैँ । प्रतिनिधिसभाको आज तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराए ।

बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । उनले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राखे ।


उनले भने– ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरू यस्तो छ, जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनुभएको देखिन्छ । सेनेटरी प्याडको, विद्युतीय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहोर्याउन चाहन्न । पूँजीगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पूँजीगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ मार्क्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन । सेवामा समेत हाम्रो ठुलो पैसा बाहिरिएको छ । यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोइ हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’