फिजीमा कोरोना सङ्क्रमित ७ दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने 



सुभा, ३ असार (रासस÷सिन्ह्वा) – फिजीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू अबदेखि सात दिन मात्रै आइसोलेसनमा बस्नु पर्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित भएको सात दिनपछि बाहिर निस्केर पनि आफ्नो काम गर्न पाइने स्पष्ट पारेको छ ।

मन्त्रालयका अधिकारीहरूले सात दिन भने कडाइका साथ आइसोलेसनमा बस्नु पर्नेमा जोड दिइएको जनाएका छन् । “कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम त चलिरहेको छ, तर सात दिनभन्दा बढी आइसोलेसनमा बस्न भने नपर्ने व्यवस्था गरिएको छ,” मन्त्रालयका एक अधिकारीले भने । 


विभिन्न अध्ययन र अभ्यासका आधारमा चिकित्सकहरूले सात दिन पछि कोरोना भाइरसको सङ्क्रमण अरुलाई नसर्ने पुष्टि भएको बताएकाले आइसोलेसनमा पनि सात दिन मात्रै राख्ने निर्णय गरिएको मन्त्रालयको भनाई छ ।   मन्त्रालयका अधिकारीहरूले कोरोनाका कारण मृतकको सङ्ख्या भने निकै कम भएको पनि जनाएका छन् । उनीहरूका अनुसार खोप लगाएका र त्यस मध्ये पनि बुस्टर डोज लगाएकाहरूका भने निकै कम मात्रै समस्या देखिएको उनीहरूको भनाई छ । 

सुरक्षाका लागि बुस्टर डोज लगाउनु अति उपयुक्त भएकाले बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।  मन्त्रालयका अनुसार १८ वर्षमाथिका ८० प्रतिशतभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा समेत लगाइसकेका छन् ।