प्रधानमन्त्री देउवा र केपी ओलीसँगको भेटलाई अन्यथा नबुझिदिनु होला : मेयर बालेन साह



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका छन् ।

बालेन साह ।


हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।

काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपील गर्दछौँ ।

यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।