प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा मिटरब्याज धन्दा चलाएर विपन्न नागरिकको उठीवास लगाएका रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।


मिटरब्याजी तेलीका कारण सप्तरीका नागरिकहरु सुकुम्बासी बनेको विषयमा बिहीबार र शुक्रबारको संसदमा समेत उठेको थियो । सप्तरीको खडक नगरपालिकाको कल्याणपूर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकदेखि मिटरब्याज धन्दा चलाएर सर्वसाधरणबाट अवैधानिक रुपमा करोडौं असुलेको र घरखेत समेत बन्धकी राखेर फिर्ता नदिएको सार्वजनिक भइरहेको छ ।

पीडितले प्रहरीमा उजुरी दिएपनि पक्राउ नपरेपछि शुक्रबार प्रधानमन्त्री आफैले घटनामा ध्यानाकर्षण जनाउँदै पीडकलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारवाही प्रकृया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन् । पीडक तेली हाल धरान उपमहानगरपालिका–१९ धनकुटे चोकमा बस्दै आएको बताइएको छ।