प्रधानमन्त्रीले सङ्कल्प पूरा गर्नुहुन्छ : उपसभापति खड्का



भक्तपुर । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन् । आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले काँग्रेसले सफलता हाँसिल गरेको बताएका हुन् ।

“नेपाली काँग्रेसको उद्देश्य प्राप्तिका लागि, काँग्रेसको सङ्कल्प पूरा गर्न, काँग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ”, पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने । कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको उनले दावी गरे ।


“काँग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन”, उनले भने, “अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ ।”  विपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिंहको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए । उनले भने, “लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दुक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो, यो गठबन्धनले मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा दुई तिहाइ ल्याउँछ ।” 

उपसभापति खड्काले जनताको विश्वासको कडीलाई काँग्रेसले टुट्न नदिने बताउँदै जनताको पक्षमा काम गर्दै जाने दृढता व्यक्त गरे । काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा मन जितेर काम गर्न निर्देशन दिँदै उनले भने, “काँग्रेस जनताको पार्टी हो भन्ने अनुभूति दिने गरी काम गर्नुस्, सम्पत्ति थप्ने कोसिस नगर्नुस् ।”

कार्यक्रममा नेपाली काँग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले शहीद राधेश्याम जोन्छेँको स्मृति भवन र शालिक निर्माणको काम वाग्मती प्रदेशले गर्ने घोषणा गरे । उनले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश काँग्रेसले दिएको भन्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको दावी गरे ।

कार्यक्रममा नेपाली काँग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले शहीद राधेश्याम जोन्छेँको स्मृति भवन र शालिक निर्माणको काम वाग्मती प्रदेशले गर्ने घोषणा गरे । उनले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश काँग्रेसले दिएको भन्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको दावी गरे ।

सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतले काँग्रेसले आगामी सङ्घ र प्रदेशको निर्वाचनलाई लक्ष्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा पदमबहादुर पौडेलले शहीद जोन्छेँको स्मृति भवन र सालिक निर्माणका लागि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ३ आना २ पैसा क्षेत्रफल जग्गा प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गरे । 

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष तथा वाग्मती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छेँले आफ्ना पति शहीद राधेश्याम जोन्छेँले गरेको योगदानको चर्चा गरे । तत्कालीन जनयुद्धकालमा नेकपा (माओवादी) ले भक्तपुरको कटुञ्जेस्थित घरमै बसिरहेका जोन्छेँलाई वि.सं २०५९ भदौ १६ गते गोली हानी घाइते बनाएको थियो । घाइते अवस्थामा हिँडडुलसमेत गर्न नसकी उनको २०६९ साल जेठ २४ गते निधन भएको थियो ।