काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितविपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबीच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिएका हुन् ।
नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरुदेशले चासो राखेर कसैले भनेपनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।
त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर गर्ने कुनै तयार नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले अहिले सबैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रम बारेमा बोल्न आवश्यक नरहेको धारणा राखे । उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका विषयमा आवश्यक छलफल गर्न तयार रहेको जिकिर गरे।