‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’-प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन् ।

प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राखे ।


महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराए । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उनले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताए । सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले जानकारी दिए । काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उनले असन्तुष्टि व्यक्त गरे ।